प्रदीप एक्लै बसेर पढिरहेको थियो । कोठामा अरु कोही थिएन । त्यसैले शान्त वातावरण थियो । तर उसको मन अशान्त थियो । उसलाई छटपटी भइरहेको थियो । के गरौं, कसो गरौं भइरहेको थियो ।
भोलि शनिबार थियो, स्कूल छुट्टी हुने दिन । दिउँसो साथीहरुले हलमा नयाँ फिल्म लागेको बताएका थिए । उनीहरु सबैले भोलि दिउँसो फिल्म हेर्न जाने सल्लाह पनि गरेका थिए । उनीहरुले प्रदीपलाई पनि सोधेका थिए । तर उसित पैसा थिएन । तत्काल कतैबाट जुटाइहाल्ने उपाय पनि थिएन । त्यसैले उ साथीहरुले सोध्दा जवाफ दिन नसकेर चूप लागेको थियो । पछि तिर्ने शर्तमा रमेशले टिकटको पैसा आफंैले लगाइदिने प्रस्ताव पनि राखेको थियो । तर तिर्ने कसरी? त्यसैले उसले साथीहरुलाई कुनै टुंगो दिन सकेको थिएन । भालि नै थाहा दिउँलानी भनेर उ घरतिर हिँडेको थियो ।
अचानक् प्रदीपको मनमा एउटा उपाय सुझ्यो । मनबाट ठूलो बोझ हटेजस्तो भयो । ऊपूmर्तीसाथ जुरुक्क उठ्यो र बाबामामु सुत्ने कोठामा बिस्तारै बिरालोको चालमा पस्यो । त्यसपछि चलाखीसाथ पलङ्को सिरानी पल्टायो । उसले त्यहाँ एउटा डायरी भेट्यो । बाबाको डायरी रहेछ । डायरी उठाएर सबै पाना छिटो छिटो पल्टायो । केहि भेटेन । डायरीका पानाहरु फेरि त्यसैगरी पल्टायो, तर यसपटक अलि बिस्तारै । पुनःउसले त्यहाँ केहि भेटेन, डायरीका पानाहरु बाहेक । तेस्रोपल्ट डायरी पल्टाउँदा पनि उसले आशा गरे अनुरुप रुपैयाँ भेटेन । त्यसपछि डायरीलाई सिरानीमुनि नै राखेर उ अरुतिर खोज्न थाल्यो । डायरीका पानाहरुमा लेखिएका सुन्दर अक्षरहरुसित उसलाई कुनै चासो थिएन ।
उसले पलङ्को डसना उचाल्यो र त्यहाँ पनि हेर्यो । त्यहाँ केहिकागजका टुक्राहरुमात्र भेट्यो । आल्नामा मिलाएर राखिएका कपडाहरु देख्यो । त्यहाँ बाबाका पाइन्टहरु आइरन गरेर मिलाएर राखिएका थिए । हलुकासँग सबै पाइन्टका गोजीहरु छाम्यो पालैसित । तर केहि भेटिएन । शायद रुपैयाँ राखेको पाइन्ट लगाएर बाबा गाउँ घुम्न निस्किनु भयो होला ।
मनमा खल्लो लाग्यो । तर उसले अझै आशा त्यागिसकेको थिएन । उसका हातहरु बिस्तारै डेसिङ् टेबुलका खोपाहरुमा सल्बलाए । त्यहाँ पनि आशा गरे अनुरुप केहि भेटिएन ।
उ लगभग निराश भयो । अब कसो गर्ने होला? साथीहरु सबै भोलि फिल्म हेरेर छुट्टी मनाउलान् । आफूभने के गरी बिदाको दिन बिताउने होला?प्रदीपको मनमा कुरा खेल्न थाल्यो ।
अचानक् उसले बाबाको नयाँकोट सम्झियो । कोट ढोका छेउको भित्ताको काँटीमा झुण्डिरहेको थियो । मामाको बिहेको लागि केटी हेर्न जाँदा उसको बाबाले यहिकोट लगाउनु भएको थियो । मामाको बिहे पक्का भएपछि हुनेवाला ससुरालीमा टिका लगाएर आएको उहाँले बताउनु भएको थियो । टिका लगाएपछि दक्षिणा पनि त पाउनु भयो होला ।
हत्तपत्त प्रदीपले बाबाको कोटको गोजीमा हातहाल्यो । तर गोजी रित्तो थियो ।
“धत् यहाँ पनि रै’नछ ।” कोटको दुईटै बाहिरी गोजी छामिसकेपछि उसले सोंच्यो । तत्कालै उसले सम्भm्यो —”कोटमा त भित्रीगोजी पनि हुन्छ ।” त्यहाँपनि छामी हेर्ने विचारले हात घुसार्यो ।
”आहा...!”
नभन्दै उसले गोजीमा एउटा चिठ्ठी हाल्न प्रयोग हुने खाम भेट्यो । हत्तपत्त खाम खोलेर हेर्यो । उसको खुशीको सीमा रहेन । खामभित्र दुईटा नोट थिए । एउटा पाँचसयको र अर्को पचासको ।
कुनचाहिँ झिकूँ? उसलाई अप्ठेरो पर्यो । पचासको झिकूँ? अहँ, फिलिमको टिकट किन्नै पुग्दैन । पाँचसयको झिकूँ? तर बाबाले थाहापाउनु भयो भने ? दोमन र अलमलमा करिब पाँचमिनेट बितेछ । बाहिरबाट कसैले खाकेको आवाजआयो । हजुरआमा भित्र आउन लाग्नु भए जस्तो छ ।
”नखाऊँ भने दिनभरिको शिकार, खाऊँभने कान्छा बाऊको अनुहार”भनेझैं भयो प्रदीपलाई । कोटको गोजीमा फेला परेको पैसा त्यसै छोड्न पनि मन लागेन । चोर्दा पनित्यति ठूलो रकमबाबाले थाहापाउनु भयो भने आफ्नो के गतिहुने हो ? उताकोटको गोजीमा हातहालेर बसिरहने समय पनि छैन । हजुरआमा आइपुग्नु भयो भने के होला? आखिर केहि न केहि त गर्नै पर्ने भयो ।
पाँचसय रुपैयाँको नोट झिकेर हत्तपत्त आफ्नो पाइन्टको खल्तीमा हाल्यो प्रदीपले । खाममा भएको रकम पक्कै बाबाले हेर्नुभएको छैन होला । मामाको हुनेवाला ससुराले खामभित्र हालेर दिए होलान् । त्यसैले दुईवटा नोट थियो कि एउटामात्र, उहाँलाई थाहाहुने कुरो भएन । उसको मन केहि ढुक्क भयो ।
बेलुकी खाना खाइवरी चाँडै नै सुत्यो । उ सुत्दा ममी, बाबा र हजुरआमा गफ गरिरहनु भएको थियो ।
भोलिपल्ट बिहान निन्द्राले छोडेपछि प्रदीप झसङ्ग भयो । उज्यालो भइसकेछ । ओछ्यानमै पाइन्टको गोजी छाम्यो । ऊ खङ्रङ्गभयो । लौ बित्यास पर्यो । पैसा छैन त ?
ऊ जुरुक्क उठेर ओछ्यानमा खोज्न थाल्यो । कतै सिरकले छोपिएको पो छ कि? राति सुतेको बेलामा गोजीबाट झरेको हुनुपर्छ । तर अहँ, पैसा भेटिएन । अब के गर्नेहोला त ?
”के खोजेको हँ तैले ?” एक्कासी कानमा ठोक्किन आइपुग्यो ममीको तीखो आवाज । प्रदीप तर्सियो । राम्ररी नियालेर आवाज आएतिर हेर्यो ।उसले देख्यो — ममी र हजुरआमा उसैलाई हेरिरहनु भएको छ । अनौठो भाव थियो उहाँहरुको हेराइमा । मैले पैसा चोरेको थाहा त पाएनन्? प्रदीपको मनमा चिसो पस्यो । के भन्ने, कसो भन्ने भयो उसलाई । ”पैसा खाजेको होस् भने यहाँ म सित छ ।” फेरि ममीले भन्नुभयो । लौ पर्यो फसाद । अब मरिने भो ।थाहा पाइसकेछन् । कसरी अबमुख देखाउनु ? प्रदीपआत्तियो । केहिबोल्न सकेन । घोसे मुन्टो लगायो र बसिरह्यो ।
त्यसबखत बाबा घरमा हुनुहुन्थेन । बिहान सबेरै उठेर मर्निङ्वाकमा निस्किसक्नु भएको थियो । यो उहाँको प्रत्येक बिहानको नियमितचर्या थियो । ”धन्य !” प्रदीपले सोंच्यो, ”अबबाबालाई कसरी मुख देखाउनु ।” उसको मनमा चिन्ता थपियो ।
केहिबेर पछि ममी उसको छेउमा आउनुभयो । ”मेरो छोरो असल छ भन्ने सोंच्थें, ” उहाँले व्यङ्ग गर्दै भन्नुभयो, ”पकेटमार हुन लागेछ ।” प्रदीपलाई डरमात्रलागिरहेको थियो । ममीको बचनबाणले नरमाइलो पनिलाग्यो । उसलाई पछुतो लाग्नथाल्यो ।
”किनत्यस्तो फटाईं गरिस् ?भन् त ।” ममीले उसलाई फेरि एकपटक केर्नु भयो । तर ऊ बोलेन । ढुङ्गाको मूर्तिझैं भूईतिर हेरेर बसिरह्यो ओछ्यानमै ।
”पैसा चोर्ने तँ, तेरो बाबुको गालीखाने चैं म ।” रुन्चे स्वरमा ममीको गुनासो मिश्रित गाली उसले सुनिमात्र रह्यो ।
”भइहाल्यो, धेरै गाली नगर् । बालख हो । एकपटक सबैको बुद्धि बिग्रिन्छ । अब चोर्दैन । कि चोर्छस् ?” हजुरआमाले उसको बचाउ गर्दै भन्नुभयो । प्रदीपले अब देखि चोर्दिन भन्ने भाव जनाउन टाउको मात्र हल्लायो, तर बोलेन । ”अब बाबा आएपछि के गर्नु हुने हो,”मनमनै उ पिरोलिइरहेको थियो ।
केहिबेरपछि बाबापनि घर आइपुग्नु भयो । प्रदीपको डरको सीमा रहेन । सम्भावित सजायँ सम्झेर उसको मुटु काम्यो । बिहानै ओछ्यानबाट उठेर पढ्न बसिसकेको थियो । अरुबेला शनिबार ऊ कहिल्यै पढ्दैनथ्यो ।
प्रदीप पढिरहेको खाटमा बाबापनि आएर बस्नुभयो । साथमा दाह्री काट्ने मेसिन, क्रीम, ऐना र एउटा टावेल थियो । दाह्री काट्दै गर्दा अचानक् बाबाको प्रश्नले प्रदीपको मनमा ठूलो कम्पन पैदा गर्यो— ”ओइ केटा, तैंले राति किन मेरो कोटको गोजीबाट पैसा झिकिस्, हँ?” उसलाई एक्कासी रिंगटा लाग्ला जस्तो भयो । आँखा अघिल्तिर कुनै कालो आकृति उभिएजस्तो भयो । छायाँमात्र देख्यो उसले । मनमा उत्पन्न भएको डरले गर्दा आफ्नै छेउमा दाह्री काटिरहनु भएका बाबालाई समेत केहिबेर देखेन प्रदीपले ।
”अबदेखि त्यसरी पैसा चोर्ने होइन नी, बुझिस् केटा ?पुनः एकपटक सम्झाउने भाकामा बाबाले भन्नुभयो, ”बरु तँलाई चाहिए मलाई माग्नू ।” बाबाले त्यसो भन्नुहोला र त्यति सजिलै माफ गर्नुहोला भन्ने उसलाई लागेको थिएन । मनमनै खुशी भएपनि ऊ बोल्न सकेन । ”हुन्छ” भन्ने जनाउन टाउकोमात्र हल्लायो ।
(२०६९ फागुन १३ गते कोपिलामा प्रकाशित)
No comments:
Post a Comment