एउटा यामाहा इन्टाइसर मोटरसाइकल आयो र घ्याच्च रोकियो पसल अघिल्तिर । रातो रङ्गको त्यस मोटरसाइकलको पछिल्तिर सवार युवक फुर्तीसाथ उत्रियो र पसलतिर बढ्यो । मोटरसाइकल चालक त्यस्तै पैंतालीस या पचास वर्षको अधबैंसे ब्यक्तिपनि हेल्मेट मोटरसाइकलको हेण्डिलमा उनेर उसको पछिपछि पसलमा पस्यो । दुबै खानलाउन राम्ररी नै पुग्ने परिवारका जस्ता देखिन्थे ।
उनीहरु आएको देखेपछि साहुनीको फूर्ती बढ्यो । उनको अनुहारमा खुशीफुलेको थियो या हतास, त्यो भने मैले ठम्याउन सकिनँ । तर झण्डै बीस मिनेट देखि साँधेको भटमास—चिउराको निम्ति पर्खेर बसेको मलाई तुरुन्तै उनको सेवा मिल्यो । मैले अर्डर गरेको खानेकुरा तयार पार्न समय लागेको थियो या अरु कुनै कारणले, मलाई थाहा भएन ।
आमाचाहिंले आफ्नी छोरीलाई आँखाले इशारा गरेको मैले देखें । तुरुन्तै छोरी चाहिंले एउटा कोकको बोतलमेरो अघिल्तिर ढ्याक्क राखिदिई र भित्रतिर दौडिई ।
म भटमास चिउरा चपाउँदै कोकले भिजाएर निल्दै गर्न लागें । मलाई हतार थियो । बेलुकीको पाँच बजिसकेको थियो । भित्री पृष्ठका समाचार तथा लेखहरु संयोजन गरिसकेर प्रेसमा छाप्न पठाएपछि म त्यहाँ आएको थिएँ । बाहिरी पृष्ठहरुका निम्ति जिल्लाबाट समाचारहरु आउनेक्रम सुरु भइसकेको थियो । त्यसैले जतिसक्दो चाँडो खाइसकेर हिंड्नु थियो ।
कार्यकारी सम्पादक बिरामी भएर बिदामा बसेकाले पत्रिकाको सबै काम म एक्लैले गर्नुपरेको थियो । त्यसैले म दिनभरि ब्यस्त रहन्थें । बेलुकी झन् बढी जिल्लाबाट आएका समाचारहरु सम्पादन गर्नुपर्ने भएकोले खानाको लागि कोठा पुग्न ढिलो हुन्थ्यो । त्यसैले म अलिकति फुर्सद निकालेर खाजाखान त्यस होटलमा पुग्थें । मेरो पत्रिकाको कार्यालय नजिकै हुनाले पनि त्यो होटल मेरो छनौटमा परेको थियो ।
मेरो टेबुल नजीकै होटलकी साहुनीको किचेन थियो । ग्याँस स्टोभमा उनी केहि पकाउँदै थिइन् । भर्खरै होटलभित्र छिरेको उनको अधबैंश ेग्राहक आफैंले एउटा मुडा बोकेर आयो र उनको छेउमै बिस्तारै बस्यो । उसित आएको केटो साहुनीको छोरी पछ्याउँदै सरासर भित्र पसिसकेको थियो । भित्रउनीहरु चलेको, जिस्किएको र साहुनीको छोरी खितखिताएर हाँसेको आवाजले मेरो कान फुट्लाजस्तो हुँदै थियो । यता साहुनीले एक प्लेट कुखुराको मासु र एउटा बियर आपm्नो अधबैंशे ग्राहकको अघिल्तिर राखिदिइन् र उ तिर हेरेर मुसुक्क हाँसिन् ।
लगाइरहेको क्यापखोलेर घुँडामा राख्दै ग्राहकले मौनतातोड्यो ।
“उफ्, कति सारो गर्मी हौ, आज । ”
उसले आफ्नो आधा खुइलिएको तालु साहुनीलाई देखाउन चाहेको हो कि? तर साहुनीले उसको तालुतिर खासै ध्यान नदिएको जस्तो लाग्यो ।
“त्यहित,” साहुनीले उत्तर फर्काइन्, “चिसो बियर अगाडि राखिदिएको देख्नु भएन?”
“आऊ न हौ कान्छी । एकछिन छेउमा बस ।”
साहुनीलाई बोलायो उसले । मात्तिएको बूढा । छेवैमा बसेर भटमास चिउरा चपाइरहेको मेरो अस्तित्व स्वीकार्न चाहेन उसले । कम थिइनन् साहुनीपनि । बिर्को खोलेको एउटा बियरको बोतल हातमा लिएर ठाडो घाँटी लगाइन् । घुटुक्क बियर निलेर मलाई पुलुक्क हेरिन् । अनि उसको छेवैमा टाँसिएर बसिन् र भनिन् — “यो तपाईंको तर्फबाट ल ।”
साहुनी लाडे पल्टिँदै आफूसित टाँस्सिन आइपुगेपछि त्यस अधबैंसे अझमख्ख परेको हुनुपर्छ । “खाऊ न खाऊ,”उसले भन्यो, “तिम्रै होटलमा म तिमीलाई नै किनीदिन्छु ।”
नभन्दै एकैछिन पछि नै आफ्नो प्लेटको कुखुराको मासु केलाउँदै फलमासु साहुनीलाई खुवाइदिन पो थाल्यो । म जिल्ल परें । आफ्नो प्लेटको भटमास चिउरा चपाउन बिर्सिएर उनीहरुलाई नै हेरिबसेछु निकैबेर ।
एकैछिन अघिसम्मको मेरो मनको हतारो कतिबेला निस्किएर टाप कसेछ । उनीहरुको गतिविधिमा चाख लागेर होला शायद । बिस्तारै भटमास चिउरा चपाउँदै म उनीहरुलाई नै घरिघरि पुलुक्क हेर्थें र उनीहरु बिचको कुराकानी सुन्ने प्रयत्नमा थिएँ । कस्ता कुरा गर्दा हुन् यिनीहरु ? मेरो मनमा खुल्दुली थियो ।तर उनीहरुको कुरा प्रष्ट सुन्न सकिने स्थिति त्यहाँ थिएन किनभने सडकमा गाडीहरुको आवतजावत र हर्नको तीखो आवाज ब्याप्त थियो ।
मेरो प्लेटको भटमास चिउरा सकेसम्म ढिलो सकिए पनि हुन्थ्यो, तर थोरै, थोरै मात्र चपाउँदा पनि चाँडै सकियो । अलिकति कोक बोतलको पींधमा बाँकी रहेछ । त्यो पनि अन्तिम घुट्कोमा सकिदिएँ । त्यसबिचमा साहुनीले त्यस अधबैंसेको प्लेटमा दुईपटक मासु थप्न भ्याइसकेकी थिइन् । बियरका तीनवटा खाली बोतल भूईंमा ठडिएका थिए । अधबैंशे मस्त थियो फलमासु केलाउँदै साहुनीलाई खुवाउनमा । हड्डी चुस्दै प्लेटमा राखेर बियर घुट्क्याउँदा उसलाई अपार आनन्द प्राप्त भइरहेको हुनुपर्छ त्यो बखतमा, नत्र बिचबिचमा किन साहुनीका तिघ्रा चिमोट्दै, आफ्नो कुमले उसको कुमलाई धकेल्दै उन्मत्तहाँसो हाँस्थ्यो ?
त्यो केटो को थियो ? उसको साथी? किउसको छोरो या भतिजो ? मैले ठम्याउन सकिनँ, सक्ने कुरो पनि थिएन शायद । तर उ दुबै हातले आफ्नो कपाल मिलाउँदै बाहिर आइसकेको थियो । साहुनीकी छोरी भित्रै थिई र चूप लागेकी थिई । अघिसम्म कोठै थर्काएर हाँस्ने ऊ अहिले किन चूप लागी?
“भयो ?” युवकलाई देख्नासाथ अधबैंशेले सोध्यो ।
“अँ, भयो,”युवकले जवाफ फर्कायो, “जाम् अब, ढिलो हुनलाग्यो ।”
अधबैंशे उभियो र पाइन्टको पछाडिको गोजीबाट पर्स झिक्यो ।
“तीन हजार ।” साहुनीले भनिन् ।
अधबैंशेले नबोली तीनओटा हजार रुपैंयाको नोट थमाइदियो उनको हातमा र एकपटक चुम्बन गर्यो साहुनीको गालामा । त्यसपछि दुबै मोटरसाइकलमा चढेर त्यहाँबाट अलप भए ।
त्यो साँझ मेरो मन स्थिर रहेन । राम्ररी कामगर्नै सकिनँ । कस्तो कस्तो लागिरह्यो मनमा । साहुनी, उसकी छोरी, त्यो अधबैंशे र त्यो युवक नाचिरहे आँखावरिपरि । उनीहरुको निम्तिशायद यो स्वभाविक दैनिकी थियो, तर मेरो निम्ति नितान्त नौलो दृश्य थियो । अन्जानमा म उनीहरुको साक्षी बन्न पुगेको थिएँ । त्यसैले मनमा अपराधबोध भइरह्यो निकै बेर ।
बैशाखको मध्य एकदिन पुनः भेट भयो त्यो अधबैंशेसित अप्रत्यासित र अवाञ्छितरुपमा । म समाचार रिपोर्टिङ्गका लागि कतै जाँदै थिएँ । ब्यागमा डायरी, कलम र क्यामेरा थिए ।चोकको घुमाउरो टर्निङ्गमा एउटी दुब्लीपातली महिला एउटा भलाद्मीको सर्टको कलर समातेर झुण्डिदै तान्दै थिई उसलाई ।
“बजिया, रण्डा,” उ आक्रोशित थिई, “मोज गर्ने बेलामा गरिस् अनि पैसा नतिरी भाग्न खोज्छस् ?” मैले पालैपालो ती महिला र भलाद्मीको अनुहारमा नियालें । ती महिलाले शरीरको माथिल्लो भागमा कालो मैलो चोली लगाएकी थिइन् । कम्मरमुनि रातो पेटीकोट मात्र थियो । खुट्टा खाली थियो, चप्पलबिनाको ।कपाल भर्खरै कसैले भुत्ल्याएर छोडेको जस्तो असरल्ल थियो । अरु थुप्रै मानिसहरु उनीहरुलाई नै हेरिरहेका थिए ।
ऊ त्यहि अधबैंशे थियो जसले केहिदिन अघि एक साँझ मेरो अस्तित्वलाई नकार्दै मेरै अघिल्तिर होटलकी साहुनीको तिघ्रा चिमोटेको थियो । तर यतिबेला ऊ त्यतिबेलाको जस्तो हँसिलो र रहुसे देखिएन । उसको पहिरनले ऊ ठाँटिएर कतै हिंडेको भलाद्मी जस्तो लाग्थ्यो । उसको मुखबाट बियरको अमिलो गन्ध आइरहेको थियो । लाजले हुनुपर्छ उसको अनुहार निकै रातो भएको थियो । कसाहीले खसीबोका घिच्याएजस्तो त्यो आइमाइले उसको सर्टको कलरमा समातेर घिच्याउँदै थिई । ऊ रुन्चेस्वरमा “त्यसरी नतानन” भन्दै लुरुलुरु पछि लागिरहेको थियो ।
मेरो झोलामा राखेको क्यामेराको याद आयो मलाई । झिकेर यिनीहरुको फोटो खिचूँ? अहँ, मनले मानेन । कसरी खिच्नु ? के भनेर छाप्नु ? मेरो समाजको अतिगोप्य कटुसत्य छताछुल्ल भएर सडकमा पोखिएको त्यो क्षण सडकको वारि र पारि उभिएर हेरिरहेका धेरैका निम्ति रमाइलो दृश्य भयो होला । तर मेरो मन खिन्न भइरह्यो ।
केहिबेर त्यो महिलाले तान्दै अधबैंशेलाई एउटा रेष्टुरेण्टभित्र हुलेको दृश्य हेरिरहें । लाग्यो, कमलकोटीले आफ्नो चारो लार्भालाई तान्दै माटोको गुँडमा छिराउँदैछ । आँखाबाट उनीहरु अलप भएपछि म आफ्नो बाटो लागें, मेरो शहरमा मौलाउँदै गएको नयाँ सँस्कृतिको साक्षीबनेर ।
१६ चैत २०६९ मा नागरिक दैनिक पुर्बेली संस्करणमा प्रकाशित
No comments:
Post a Comment