पागल
- लक्ष्मीप्रसाद देवकोटा
- लक्ष्मीप्रसाद देवकोटा
जरुर साथी म
पागल !
यस्तै छ मेरो
हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु
।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार
जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल
!
जब, जलकिनारका जल चिप्ला
ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका
चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो
बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल
आउँछ तिनको भाषा
साथी ! छाल छाल
!
जरुर साथी म
पागल !
यस्तै छ मेरो
हाल !
तिमी चतुर छौ,
वाचाल !
तिम्रो शुद्ध गणित सूत्र
हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक
झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले
काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ
साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय
देख्न सक्तैनौ,
म उसमा हेलेन
र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ
!
म तरल पद्य
छु !
तिमी जम्दछौ जब म
पग्लन्छु,
तिमी सँग्लन्छौ जब म
धमिलो बन्छु,
र ठीक त्यसैका
उल्टो !
तिम्रो संसार ठोस छ
।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो
!
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ
छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो,
मीठो अक्षर काटेको
पान्ढीकीको
बाटुलो सत्यलाई !
मेरो छ वेग
काँडाको साथी !
तिम्रो सुनको र हीराको
!
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा
ढिलो छ ।
यस्तै छ मेरो
हाल !